कट्रिना दुई महिना विशेष प्रशिक्षण

रंग नेपाल २०८० कार्तिक १४ मा प्रकाशित

मुम्बई । यशराज फिल्मस्को स्पाई ब्रह्माण्डको पहिलो महिला जासुसको भूमिकामा अभिनेत्री कट्रिना कैफ अर्थात् जोया रहेकी छन् । एक था टाइगरबाट सुरु भएको उनको यो चरित्र अहिले टाइगर–३ मा आइपुग्दा झन पेचिलो र खतरनाक भएको छ । उनको यस चरित्रलाई आफैमा नायकका रूपमा हेरिएको छ, जसमा उनी टाइगर (सलमान खान)भन्दा कम छैनन् । उनी एक खतरनाक र बुद्धिमान जासुसका रूपमा प्रस्तुत हुँदै आएकी छन् । पाकिस्तानी एजेन्टका रूपमा उनले आफ्नो देशको रक्षा गर्न जे पनि गर्न सक्छिन् ।

कट्रिनाले जोयाको चरित्रमा आफ्नो आत्मा राखेकी छन् भन्ने कुरामा कुनै शंका छैन । टाइगर–३ मा यी अभिनेत्रीले यस्तो अविश्वसनीय स्टन्ट र एक्सन प्रदर्शन गरेकी छन्, जुन चाखलाग्दो छ । उनले गरेको यो स्टन्ट यसअघि कुनै पनि बलिउड अभिनेत्रीले पर्दामा नगरेको दाबी उनको छ । उनले फिल्मको एक्सन सिन गर्नुअघि करिब ६० दिनसम्म विशेष प्रशिक्षण लिएर तयारी गरेको बताएकी छन् ।

कट्रिना भन्छिन्, ‘टाइगर–३ ले देखाएको छ कि जब आफ्नो परिवार, देश वा मानवता बचाउने कुरा आउँछ, त्यहाँ महिलाले के गर्न सक्दैनन् ? जोयाजस्तो पात्रले मानिसहरूलाई केटीहरू उद्धारकर्ता हनसक्छन् भनेर बताउनेछ ।’ जोया आफूलाई मनपर्ने एउटा महत्वपूर्ण भूमिका भएको पनि उनले बताएकी छन् । ‘जोया आफ्नो धैर्यता र साहसले कसैलाई कसरी मिलाउन सक्छिन् भन्ने मलाई मनपर्छ,’ कट्रिनाले भनिन्, ‘जोया झगडा गर्न पछि हट्दिनन् र जोयाको एक्सन स्टाइल पनि अनौठो छ र केही जटिल एक्सन दृश्यहरू मुटु काम्ने खालका पनि छन् ।’

आदित्य चोपडाद्वारा निर्मित र मनीष शर्मा निर्देशित, टाइगर–३ आगामी १२ नोभेम्बरमा रिलिज हुनेछ ।  कट्रिना भन्छिन्, ‘मलाई एक्सन मनपर्छ र जासुसको भूमिका खेल्नु भनेको सपना साकार हुनुजस्तै हो, म सधैं यो फ्रेन्चाइजका लागि आफ्नो २ सय प्रतिशत दिन्छु र टाइगरका हरेक फिल्मले जोयाको क्यारेक्टरलाई उच्च स्थानमा लिएको छ ।’

कट्रिनाले टाइगर ३ का लागि आफ्नो एक्सन तयारी कम्तीमा दुई महिनाको भएको बताइन् । ‘हामी जोयालाई फुर्तिलो देख्न चाहन्थ्यौं, धेरै गतिशील र बलियो बनोस् भनेर मैले वास्तवमै कडा परिश्रमबाट गुज्रनुपरेको थियो,’ कट्रिनाले भनिन् । आफ्ना लागि त्यो पक्कै पनि सबैभन्दा कठिन प्रशिक्षण र करियरको ठूलो चुनौती भएको पनि उनले बताएकी छन् । एजेन्सी

धेरै पढिएका

पछिल्ला अपडेट