संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस माला र टोपीमा सजिँदा…

रंग नेपाल २०८० कार्तिक १३ मा प्रकाशित

गण्डकी । पोखरा भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् ।

नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो । मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए ।

उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए । तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उनले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो ।

शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरे झैँ भान मिल्थ्यो । आज बिहानैदेखि पोखराको मौसम खुलेको थियो । महासचिव गुटेरेसको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट