मुम्बईमा प्रिमियर हुँदै ‘चिसो घर’

रंग नेपाल २०८० असोज ३० मा प्रकाशित

काठमाडौं ।  मुम्बई फिल्म महोत्सव-२०२३ मा नेपाली फिल्म ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) का लागि छनोट भएको छ । महोत्सव कात्तिक १० गतेदेखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ ।

एभरेष्ट फिल्म एकेडेमीबाट फिल्म अध्ययनमा डिप्लोमा गरेकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गरेको छोटो फिल्म ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) को लागि छनोट भएको हो । सामाजिक कथा वस्तुमा आधारित उक्त फिल्म ११ मिनेट लामो छ  ।

‘मैले गरेको पहिलो काम नै अन्तरराष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित छु । विश्वभरका फिल्मकर्मीसँग ज्ञान र अनुभव साट्नुका साथै त्यहाँ फिल्म हेर्न र आफ्नो फिल्मको प्रतिक्रियाका निमित तयार छु,’ निर्देशक गिरीले भनिन् । उनका अनुसार ‘फोकस साउथ एशिया’ विधाअन्तर्गत फिल्म छनोट भएको हो । फिल्ममा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन, मारिया कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् ।

सोही महोत्सवमा फिल्म ‘गाउँ आएको बाटो’ ‘साउथ एशिया प्रिमियर’ हुँदैछ । महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ साउथ एशिया कम्पिटिसनअन्तर्गतको प्रतिस्पर्धामा छन् ।

महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुरः द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ । छोटो फिल्मको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा छ । महोत्सवमार्फत नेपाली फिल्मको बजार अन्तरराष्ट्रियकरण हुन सहयोग मिलेको जानकार बताउँछन् । महोत्सवमा ७० देशका २५० फिल्म प्रतिस्पर्धामा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट