काठमाडौं । श्रीलङ्कामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ नेपालको प्रतिनिधि सजिना खनालले ‘मिस एलिगेन्स’ शीर्षकको उपाधि हात पार्न सफल भएकी छिन् ।
३५ देशको सहभागिता रहेको प्रतियोगितामा उनले आफूलाई उत्कृष्ट दशभित्र उभ्याउँदै उक्त उपाधि हात परेकी हुन् । खनालले आफूले श्रीलङ्कामा उपाधि प्राप्त गरेको खुसी सामाजिक सञ्जालमा शेयर गर्दै सहयोगीलाई धन्यवाद समेत दिएकी छिन् ।
श्रीलङ्काको कोलम्बोमा १२ दिन आयोजना भएको प्रतियोगीता हालै सम्पन्न भएको थियो ।
सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वल्र्ड टुरिजम नेपाल’को उपाधिसहित पठाएको हो । श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना समेत दिएका थिए ।
प्रतियोगितामा नेपाली पहिरन, कलासंस्कृतिमार्फत आफूले नेपाल चिनाउन सफल भएको खनालले बताइन् । प्रतियोगिताको सिकाई र अनुभव अगामी दिनको यात्रा अगाडि बढ्न सहयोग पुग्ने उनको बुझाइ छ ।