काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ ।
प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । जसमा हेभीवेट विजेताले रु एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले रु एक लाख, फिमेल म्याच विजेताले रु ८० हजार र लाइट वेट विजेताले रु ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतिष्पर्धाका लागि नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् ।
सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् भने कार्यक्रम प्रस्तोतामा जीवन तामाङ रहनेछन् । प्रवेश निःशुल्क रहेको एकदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।