काठमाडौं । गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङले पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तक गितार सिक्न चाहनेका लागि उपयोगी रहेको कार्यक्रममा सहभागिले बताए । उनीहरुले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने दाबी गरे । गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुन् । उनले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोलेका थिए । उक्त ब्याण्डमा सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर थिए ।
ब्याण्डले थुप्रै गीत-संगीत बजारमा ल्याएको छ । ठमेलमा लाइभ म्युजिक गर्ने यो पहिलो ब्याण्ड थियो । यस ब्याण्डमापछि वासु खड्का, सुनिल सिंह, प्रवीन श्रेष्ठ, सोनम श्रेष्ठ संलग्न थिए भने, अहिले सरोज शाहीले यसलाई अगाडि बढाइरहेका छन् ।
यसमा अहिले सरोजसँगै दिपक प्रधान, कुन्दन जोशी, शरण देउला र सौरभराज जोशी संलग्न छन् । सुनिल यतिबेला बेलायतमा बस्दै आएका छन् । नेपाल आएको छोटो समयमा ब्याण्डका साथीसँग भेटघाट र पुस्तक प्रकाशन गरेको उनले बताए । पुस्तक समारोहमा उनको पुराना साथीभाइ र गीत–संगीतका व्यक्तित्वका साथै सञ्चारकर्मीको उपस्थिति थिए ।