एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारलाई लिएर ‘हेराफेरी ३’ को छायांकन सुरू भएको छ ।
केही समय पहिले अक्षयले यो सिक्वेल छोडेर सामाजिक सञ्जालमा निकै चर्चा पाएका थिए । यति मात्र होइन, फिल्म मेकर फिरोज नाडियाडवालासँग उनको सम्बन्ध पनि नराम्रो भएको खबर बाहिरिएको थियो । तर, अहिले अक्षय कुमार ‘हेराफेरी ३’ को छायांकनमा फर्किएका छन् ।
सन् २०२२ मा स्क्रिप्टमा चित्त नबुझेको भन्दै अक्षयले आफू तेस्रो श्रृंखलामा नजोडिने बताएपछि सामाजिक सञ्जालमा तरंग नै आएको थियो । अक्षयलाई सिक्वेलमा फिर्ता ल्याउनुपर्ने नत्र बहिष्कार गर्ने भनेर प्रशंसकहरुले अभियान नै चलाएका थिए ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार अक्षयले आफू फिल्ममा नहुने बताएको दुई सातापछि निर्माता फिरोजले दर्शकको दबाबपछि अक्षयलाई फिर्ता ल्याउन छलफल सुरू गरेर फिल्ममा अनुबन्धित गराएको बताएका छन् ।
यो फिल्म मार्फत फेरि एकपटक अक्षय , परेश रावल र सुनिल शेट्टी एकसाथ मुख्य भुमिकामा देखिने भएका छन् । भारतको सबैभन्दा ठूलो कमिक फ्रेन्चाइज समेत बताइएको यो फिल्मबारे आगामी दिनमा थप विवरण सार्वजनिक गर्ने तयारी छ ।