काठमाडौं । बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यको परिवारले अमेरिकामा बस्ने नेपालीले १७ लाख भन्दाबढी सहयोग गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरि, अमेरिकाबाट संचारकर्मी तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलको सक्रियतामा गो फण्ड मि मार्फत संकलनगरि नेपाल पठाइएको १७ लाख ५० हजार नेपाली रुपैयाँ हस्तान्तरण गरिएको हो ।
प्राप्त रकम निर्देशक सुरेश दर्पणकी श्रीमती निशा कार्कीले मृतक प्रेमप्रसादकी श्रीमती नानुका आचार्यलाई हस्तान्तण गर्नु भएको हो ।
इलामका प्रेम प्रसाद आचार्यले, राज्यमा गरिखाने वाताबरण नभएको भन्दै गत माघ १० गते बानेश्वरमा आफ्नै शरिरमा आगो लगाएर आत्मदाह गरेका थिए ।
मैले व्यहोरेको क्षति कसैले पुर्ति गर्न सक्दैन: प्रेमपत्नी नानुका
कार्यक्रममा आत्मदाह गरेका प्रेम प्रसादकी श्रीमतीले आफुले भोगको क्षतिको पुर्ति कतैबाट पनि हुन नसक्ने बताएकी छिन् । अमेरिकाबाट सहयोग स्वरुप प्राप्त रकम बुझ्ने क्रममा संचारकर्मीसंग उनले भनिन् मैले श्रीमान गुमाउनु पर्यो छोरीहरुले बाबा गुमाउनु पर्यो । मैले कति क्षति ब्यहोरेको छु यसको पुर्तिले कसैले पनि पुरा गर्न सक्दैन् र मैले माग पनि राखेको छैन् सरकारसंग । तर प्रेमप्रसादले उठाएका प्रश्नहरुको जवाफ भने सरकारले खोज्नु पर्ने उनको भनाई छ। हालसम्मको सरकारको कामबाट आफु आशावादी रहेको उनको भनाई छ ।
प्रेम प्रसादले उठाएका मुद्दा सम्बोधनका लागि सरकारले सक्दो प्रयास गर्ने आश्वासन दिएको भन्दै उनले आफ्नो र आफ्ना छोरीका लागि केही गर्नेमा आफु आशावादी रहेको बताइन् ।