काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ ।
बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ रिलिज हुँदै छ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।
पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को फस्टलुकमा शुभेक्क्षा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ । तेस्रो पोस्टरमा शुभेक्क्षा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशी मुड देखाइएको छ ।
निर्देशक भण्डारीले फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताए । फिल्म ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता फिल्ममा सह निर्देशकका रुपमा काम गरेका निर्देशक भण्डारीको पूर्ण निर्देशकीय डेब्यू फिल्म ‘रणवीर’ हो । यो फिल्ममा उनकै लेखनसमेत थियो । यो फिल्मबाट उनले कामको राम्रो तारिफ पाएका थिए ।
फिल्म ‘प्रेमा’मार्फत गोविन्दले फिल्म निर्माणमा पनि पाइला चालेका छन् । गोविन्दसँग लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे फिल्म ‘चिनी कम रङ कडा’का निर्देशकसमेत हुन् ।
फिल्म ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको हो । फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ ।
फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।