‘प्रसाद २’ को छायाकंन सकियो, नयाँ वर्षमा प्रदर्शन हुने

रंग नेपाल २०७९ माघ २ मा प्रकाशित

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाकंन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाकंन सकिएको छ ।

एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाकंन सकाएपछि युनिट काठमाडौं फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाकंन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ ।

फिल्म छिट्टै तयार हुने भएकाले प्रदर्शन मिति घोषणा गरिएको निर्माता सुभास थापाले जानकारी दिए । ‘प्रारम्भिक सम्पादन र ध्वनिको काम छायाकंनमै भएको छ । हाम्रो फिल्म पूर्णरूपमा तयार हुने भएकाले प्रदर्शन घोषणा गरेका हौँ’, निर्माता थापाले भने । एसजी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतसमेत निर्माता छन् ।

सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय रहेको छ । ‘मेरो लागि यो फरक किसिमको फिल्म रह्यो । मैले कथालाई न्याय गरेको छु’, निर्देशक थापाले भने । यो फिल्म ‘प्रसाद’ को दोस्रो भाग हो ।

यसमा राजेश श्रेष्ठको छायाकंन, राजनराज सिवाकोटीको सङ्गीत, उत्तम न्यौपानेको ध्वनि मुद्रण, पत्रकार सुशील पौडेलको लेखन रहेको छ । फिल्मको प्रोडक्सन कोर्डिनेटरको काम मनोज केसीले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट