भर्जिनिया । नेपालबाट अमेरिकाको भ्रमणमा आएका कलाकार सरोज खनालले निर्देशित गरेको पहिलो चलचित्र बगान भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर सो) भएको छ ।
चलचित्र हेरे पछि बाहिर निस्कनेहरु मध्ये विशेषगरि महिलाहरुका आँखा रसाएका देखिन्थ्यो भने चलचित्र हेर्ने सबै दर्शकहरुले उत्कृष्ट चलचित्र लागेको बताए । दर्शकहरुले थुप्रै पृष्ठपोषण (फिड ब्याक) स्वयम् निर्देशक सरोज खनालले दिएका छन् । अधिकांश महिला तथा पुरुषले चलचित्रको अन्तिम समयको दृश्य र संवादले भावुक बनाएको र आँखा भरि आँशु आएको दर्शकहरुले खुलेर प्रतिक्रिया दिए ।
चलचित्रको कथा वस्तु निकै उत्तम र कलाकारहरुको अभिनय उत्तिकै बेजोड भएको दर्शकहरुले बताए । धेरै दर्शकहरुले कलाकार करिस्मा मानन्धरको दमदार अभिनय रहेको भन्दै मुक्त कण्ठले प्रशंसा गरे । साथै केही दर्शकहरुले चलचित्र छोटो भएकोले अर्को भाग आएमा समय लम्ब्याउनु पर्ने समेत सुझाव दिएका छन् ।
केही महिला तथा पुरुष दर्शकहरुले चलचित्रको सुरुमा वृतचित्र झैँ लागेको बताए । समग्रमा सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र बगानमा राम्रो निर्देशन दिएको भन्दै खनाल उत्कृष्ट कलाकार हुनुको साथै र राम्रो निर्देशक समेत भएको बताए । चलचित्रका निर्माता गीतकार सुरेश वाग्ले हुन् भने उनि पनि अमेरिकाको म्यासाचुसेट्स राज्य बोस्टनभाट भर्जिनिया आएका थिए । सरोज खनाल र निर्माता सुरेश वाग्ले पनि दर्शकसंगै बसेर चलचित्र हेरेका थिए ।
बगान अल्पायु मै विधुवा भएकी आमाको आफ्ना सन्तान प्रतिको दायित्व र त्यसमा आमा प्रती सन्तानको कर्तव्यका साथै मानव जीवनमा शिक्षाको महत्वबारे समसामयिक कथामा तयार गरिएको चलचित्र हो । चलचित्रमा निर शाह, बसुन्धरा भुसला, मिथिला शर्मा, करिस्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्की लगायतको अभिनय रहेको छ ।
चलचित्र प्रदर्शन गत जनवरी ८ आइतबारका दिन भर्जिनिया राज्यको फेयरफ्यास स्थित सिनेमा आर्ट थेटर नामक चलचित्र मन्दिरमा प्रदर्शन गरिएको थियो । सरोज खनालले चलचित्र सुरु हुनु अगाडी आफ्नो पहिलो प्रयास भएको र सल्लाह सुझाव दिन समेत आग्रह गरेका थिए ।