काठमाडौं । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ ।
प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सांसद बरालीलाई सम्मान गरेका हुन् । लामो समयदेखि दलित समुदायको मुक्तिका निम्ति सङ्घर्ष गरेका सांसद बराली नेकपा माओवादी केन्द्रबाट समानुपातिक सांसदमा निर्वाचित भएका हुन् । प्रतिष्ठानका अध्यक्षसमेत रहेका सांसद बरालीले नेपाली साहित्यको क्षेत्रसमेतमा सक्रिय छन् ।
सोही अवसरमा प्रदेश प्रमुख परियारले सामाज रुपान्तरणको निम्ति दलित समुदायको मुद्दा राज्य र समाजको साझा मुद्दा बन्नुपर्ने धाराणा राखे । प्रतिष्ठानका उपाध्यक्ष तथा दलित अधिकारकर्मी मोतिलाल नेपालीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालगायत राज्यका हरेक संरचनामा दलित समुदायको समाज सहभागिताको माग गरे । हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट संंसद्मा समानुपातिकमा १५ जना र प्रत्यक्षमा एक जना गरी दलित समुदायबाट १६ जनाको प्रतिनिधित्व भएको छ ।
प्रतिनिधसभामा जम्मा सांसदको संख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी कूल जनसंख्याको १४ प्रतिशत अर्थात १६ जना दलित सांसदको उपस्थिती रहेको छ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकमा २८ जना सांसद निर्वाचित भएका छन् ।