काठमाडौं । अभिनेत्री मनिषा कोइराला प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी भएकी छन् ।
काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ उपाध्यक्ष मिश्रको घरदैलो अभियानमा मनिषा सहभागी भएकी हुन् ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाकी नातिनी समेत रहेकी मनिषा निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई समर्थन नगरी राप्रपाका उम्मेदवारहरुलाई भोट माग्न व्यस्त रहेकी छन् ।
यसअघि, सोमबार अभिनेत्री मनिषा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगै राप्रपाको चुनावी सभामा सहभागि हुन हेटौंडा आइपुगेकी थिइन् ।
चुनावी सभामा बोल्दै उनले राप्रपाको नेतृत्व लिङदेनप्रति आफूलाई विश्वास लागेर राप्रपालाई समर्थन गरेको जनाएकी थिइन् । मनिषाले आफ्नो अमूल्य मत सही, असल र समक्ष उम्मेदवार रोजेर मत सदुपयोग गर्न आग्रह गरेकी थिइन् ।