रसुवा । ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव–२०८२’ मा प्रेमकुमार श्रेष्ठ निर्मित चलचित्र अञ्जिलाले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । गोसाईंकुण्ड गाउँपालिका धुन्चे, रसुवामा शनिवार अपराह्न सम्पन्न अवार्ड समारोहमा अञ्जिला उत्कृष्ट भएको हो । यति बेला छैटौँ हप्तामा प्रदर्शन भईरहेको यही चलचित्रबाट निर्देशक मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड जिते ।
४ वैशाखबाट ६ वैशाखसम्म धुन्चेमा आयोजना गरिएको चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा २२ वटा चलचित्र, लघु चलचित्र एवम् वृत्तचित्र प्रदर्शन गरियो । चलचित्र प्रदर्शन पश्चात् उत्कृष्ट चलचित्र, कलाकार एवम् प्राविधिकलाई अवार्ड प्रदान गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, र गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतालाई अवार्ड तथा प्रमाण पत्र वितरण गरे ।
यो महोत्सवमा ज्वाइँसाबबाट अभिनेता जितु नेपालले उत्कृष्ट अभिनेता अवार्ड जिते । यसै गरी अभिनेता प्रदीप खड्काले चलचित्र पुजार सार्कीबाट अभिनेता तर्फको जुरी अवार्ड प्राप्त गरे भने उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र बोक्सीको घरबाट अभिनेत्री केकी अधिकारीले हाँसिला गरिन् । सोही समारोहमा निर्देशन तर्फ स्पेशल जुरी मेन्सन अवार्ड चलचित्र द्रौपदीबाट ऋषिराज आचार्यले, निर्देशकको जुरी अवार्ड चलचित्र ज्वाइँसाबबाट निर्देशक वसन्त निरौलाले प्राप्त गरे । अवार्ड समारोहमा उत्कृष्ट सम्पादनको अवार्ड चलचित्र पूजार सार्कीबाट भरत रेग्मीले, उत्कृष्ट छायांकारको अवार्ड चलचित्र बोक्सीको घरबाट शिवराम श्रेष्ठले, उत्कृष्ट चलचित्र भिज्युअल इफेटकोे अवार्ड चलचित्र बोक्सीको घरबाटै मनोज श्रेष्ठले हाँसिला गरे ।
यसैगरी, लघु चलचित्र तर्फ उत्कृष्ट सांगीतिक लघु चलचित्रको अवार्ड प्याकुलीबाट रामहरी खड्काले, इन्करेजमेन्ट अवार्ड प्याकुलीबाट रोनिस खड्काले पाए । उत्कृष्ट कल्चर (भाषा भाषी) चलचित्रको अवार्ड चलचित्र आप्लेगा नाम्साले, उत्कृष्ट लघु चलचित्रको अवार्ड म कमरेडबाट निर्मल पौडेलले, उत्कृष्ट वृत्तचित्रको अवार्ड वृत्तचित्र माझीबाट सबिर श्रेष्ठले हाँसिला गरे । यो महोत्सवमा नगद सहित रेडियो रसुवाका पत्रकार दीपक लामा र चलचित्र लाज शरणम्का निर्माता नविन श्रेष्ठलाई सम्मान गरियो ।
तीन दिनसम्म निरन्तर आयोजना भएको यो महोत्सव नेपाली महिला फुटबल टोलीको क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र अञ्जिलाको प्रदर्शनबाट सुरु भएको थियो । महोत्सवमा पहिलो दिन ४ वैशाखमा अञ्जिलासँगै पूजार सार्की र बोक्सीको घर प्रदर्शन गरिएको थियो ।
यस्तै, दोस्रो दिन ५ वैशाखमा नेपाली चलचित्र ज्वाइँसावसहित विभिन्न लघु चलचित्र प्रदर्शन गरिएको थियो भने तेस्रो दिन शनिवार वृत्तचित्र एवम् लघु चलचित्र र भाषा भाषी चलचित्र आप्लेगा नाम्सा प्रदर्शन गरिएको थियो ।
आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने नारासहित यो महोत्सव सेलीब्रेटी नेपालको आयोजनामा सम्पन्न भएको थियो । सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र प्रदर्शन घर समेत नभएको हिमाली ग्रामीण क्षेत्र यसरी चलचित्र महोत्सव गर्नु राम्रो कार्य भएको बताए । महोत्सवलाई अझ विस्तार गर्दै लैजान पनि उनले सुझाव दिए । उनले राष्ट्रिय चलचित्र नीति चाँडै आउने पनि बताए ।
यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस्ता महोत्सवलाई बोर्डले जहिले पनि सहयोग गर्दै आएको छ भने । ग्रामीण क्षेत्रमा बिहानदेखि राती १० बजेसम्म चलचित्र हेर्ने दर्शकको ठुलो उपस्थिति देखेर हिमाली क्षेत्रमा साना चलचित्र घर बनाउन तर्फ चलचित्र विकास बोर्डको ध्यानाकर्षण भएको बताए ।
गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले पहिलो पटक आफूहरूले धुन्चेमा गरेको यो नेपाल ग्रामीण चलचित्र महोत्सव सोचेको भन्दा अझ धेरै सफल भएकाले बताए । उनले अर्को वर्ष धुन्चेमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने घोषणा पनि सो कार्यक्रममा गरे ।
महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले ग्रामीण क्षेत्रमा पनि नेपाली चलचित्रको प्रवर्धनको लागि चार वर्ष अघिबाट यो महोत्सव आयोजना गरिँदै आएको जानकारी गराए । अध्यक्ष सापकोटाले यो महोत्सवले गाउँ गाउँमा चलचित्र संस्कृतिको विकास गर्ने जिकिर गरे । महोत्सव आउँदा वर्षमा अझ भव्य गर्ने योजना पनि अध्यक्ष सापकोटाले सुनाए ।