झरनाले बकैया कला–साहित्य महोत्सव गर्दै

रंग नेपाल २०८१ फागुन ११ मा प्रकाशित

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया कला–साहित्य महोत्सव–२०८१ हुने भएको छ ।

झरना साहित्यिक परिवार मकवानपुरको ३१३ औं साहित्य शृङ्खला एवम् ३२औं वार्षिक उत्सवका अवसरमा बकैया कला–साहित्य महोत्सव–२०८१ हुन लागेको शनिबार झरना साहित्यिक परिवार मकवानपुरका सचिव मसान उपासकले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

यही फागुन १६–१७ गते बकैया–५ कर्मप्राप्ति माविमा हुने महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन हुने आयोजकले जानकारी दिएको छ । कर्मप्राप्ति मावि बकैया–५ मकवानपुरको सहकार्यमा हुने महोत्सवको प्रायोजक बकैया गाउँपालिका रहेको आयोजकले जनाएको छ ।

साहित्य महोत्सवमा साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेको नगद २१ हजार १ सय २१ रुपैयाँ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान भैरहवाका स्रष्टा प्रा.डा. कपिल लामिछानेलाई प्रदान गरिने भएको छ ।

त्यस्तै, साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८१ इलामका शिव अधिकारीलाई प्रदान गरिने भएको छ । यो पुरस्कार चैतको चौँथो शनिबार हेटौंडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित पुरस्कार नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८१ मकवानपुरका मुक्तककार देवराज खरेललाई प्रदान गरिने भएको छ । साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित नगद ८ हजार ५ सय रुपैयाँ राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८१ मकवानपुरका बिर्खे अञ्जानलाई प्रदान गरिने भएको छ ।

साहित्यसेवी राजन दङ्गालले आफ्नो दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको नगद ७ हजार ७ सय ७७ रुपैयाँ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८१ गजलकार बबी थापालाई प्रदान गरिनेछ । साहित्यसेवी तुलसी गिरीद्वारा स्थापित नगद ७ हजार ७ सय ७७ रुपैयाँसहितको सञ्जीवनी बुटि साहित्य सम्मान–२०८१ बाराका नियात्राकार अप्सरा पुडासैनीलाई प्रदान गरिनेछ ।

मकवानपुरमा रही यस संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकारलाई प्रदान गरिने स्व।गोकर्ण गौतमको परिवारद्धारा स्थापना गरिएको नगद ११ हजार १ सय ११ रुपैयाँसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८१ मकवानपुरका पत्रकार ज्योति न्यौपानेलाई प्रदान गरिने आयोजकले जानकारी दिएको छ । बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८१ पुरस्कार सन्तोष विकलाई प्रदान गरिनेछ ।

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापित नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८१ पुरस्कार मुर्तिकार ओमभक्त भण्डारीलाई प्रदान गरिने बताइएको छ ।

जर्नादन खनालले आफ्ना मातापिताको नाममा स्थापना गरेको नगद ७ हजार ७ सय ७७ रुपैयाँ राशिसहित ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८१ ललितपुरका रत्न विरही घिमिरेलाई प्रदान गरिने भएको छ ।

बकैया गाउँपालिकाभरीका विद्यालयमध्ये उत्कृष्ट शिक्षक सम्मान–२०८१ बुद्ध माविका हरी घिमिरेलाई प्रदान गरिने आयोजकले जानकारी गराएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष विश्वनाथ सन्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने र सचिव मसान उपासकको उपस्थिति रहेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट