काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायले क्रिस्चियन धर्मको प्रचार गरेको भन्दै टिकाटिप्पणी भइरहेका छन् ।
यूएसएडबाट पैसा लिएर क्रिश्चियन धर्मको प्रचार गरेको आरोप उनीहरूमाथि लागेको हो । यसैबीच महजोडीले आरोपको खण्डन गरेका छन् । उनीहरू संयुक्त रूपमा आफूहरूले कुनै पनि धर्मको प्रचार वा विरोध नगरेको स्पष्ट पारेका हुन् । उनीहरूले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै विश्वास नगरिदिन आग्रह पनि गरेका छन् । हितैषीहरूबाटै आरोप लाग्दा चित्त दुखेको महजोडीले बताएका हुन् ।
यस्तो छ महजोडीको भनाइ–
नमस्कार
हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कामहरू गरे भनेर अनर्गल प्रचार भइरहेको छ । यसले हाम्रो चित्त दुखेको छ । हामी सबैलाई आफ्नो हितैषी सम्झिन्छौँ । हितैषीहरूबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ ।
संसारमा राम्रा कुरा पनि छन् नराम्रा पनि छन् । हामीले राम्रा मात्रै छानेर काम गर्दै आएका छौँ । कुष्ठरोग, क्षयरोग, खोपका कुराहरू यी अधर्मका विषयहरू होइनन् । हाम्रो टेलिफिल्महरु हेरेर जाँच्नु भए हुन्छ । त्यसमा केही पनि नचाहिने कुरा छैनन् ।
हामी अहले दुई फरक फरक चलचित्रको छायांकनमा छौँ । एउटा मदन दाइले खेल्नुभएको छ र एउटा मैले खेलेको छु । यो अनर्गल प्रचार आउनुभन्दा अगाडि नै हामीले भगवनको मन्दिरहरूमा पूजाआजा गरेर फिल्मको शुभारम्भ गरेका थियौँ ।
यूएसएडको कुरा आउँदा हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न खोपका सचेतनामूलक कार्यक्रम बनाएका छौँ । ती सबै कार्यक्रम युट्युबमा किताबजस्तै छर्लङ्ग राखेका छौँ । त्यो पल्टाएर हेर्नुभए हुन्छ । त्यहाँ कहीँ पनि हिन्दु, बौद्ध वा कुनै धर्मको विरोध गरेका छैनौँ । कुनै धर्मको प्रचार पनि गरेका छैनौँ ।
२०५२ सालमा हामीले ‘पञ्चायतको सराद्धे’ भन्ने कार्यक्रममा पण्डित पात्रमाथि व्यंग्य गरेका छौँ । पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितको छोरा हुँ । व्यंग्य जसलाई पनि गर्न पाइन्छ । नेतालाई, पुलिसलाई, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यो टेलिचलचित्रको एउटा टुक्रा राखेर हामीले सनातन धर्मको विरोध गर्यौँ भन्नु कपोलकल्पित हो । हामी आफ्नो काममा निरन्तर लागिरहन्छौँ । यस्ता कुराहरुले हतोत्साहित हुँदैनौँ । नेपाली जनतालाई यस्ता भ्रामक कुराहरूमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दछौँ ।