निफको आठौं संस्करण चैतमा, ४० देशका ८७ फिल्म देखाइने

रंग नेपाल २०८१ माघ ३ मा प्रकाशित

काठमाडौं । नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ)को आठौं संस्करण चैत ७ गतेदेखि ११ गतेसम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको आठौं संस्करण हुन लागेको हो ।

अघिल्ला वर्षझैँ फेस्टिभलमा यो वर्ष पनि विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट चलचित्रहरू देखाइने छन् भने समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूको रोचक र अर्थपूर्ण छलफलका सत्रका साथै विभिन्न मास्टर क्लास र कार्यशालाहरु पनि सञ्चालन हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

७० देशबाट प्राप्त ६०० भन्दा धेरै चलचित्रबाट निफको आठौं संस्करणमा ४० देशका ८७ वटा चलचित्रहरू छानिएको उनले बताए । छनोटमा परेका थुप्रै चलचित्रहरु बुसान, कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।

फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरी, दुबै वर्गीकरणमा फिचर र लघु चलचित्र, साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ । प्रविधिमा आएको विकासलाई आत्मासात गर्दै र दर्शकहरुलाई नयाँ स्वाद दिनको लागि यो वर्षबाट एआई प्रविधिबाट वा त्यससम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको अध्यक्ष पाठकले बताए । यसले दर्शकहरुलाई नयाँ प्रविधिसँग पनि साक्षातकार गराउने आयोजकको विश्वास छ ।

यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू क्यूएफएक्स सिनेमाका सिभिल मल र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् । साथसाथै पर्यटन बोर्डको हल र रस्ट्रिय सभागृहमा विभिन्न किसिमका बहस र संवादहरु सञ्चालन गरिनेछ ।महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकि डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ ।

त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’को तर्फबाट आईएफएफएस डन क्विक्सोट अवार्ड प्रदान गरिनेछ । महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ भने एआई चलचित्रलाई ५०० अमेरिकि डलर राशिको मन्जुश्री अवार्ड प्रदान गरिनेछ ।

यसैगरी, नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०-५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । राष्ट्रिय सर्ट फिल्म मध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने राष्ट्रिय फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफीद्वारा सम्मानित गरिने आयोजकले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट