म्युजिकल फिल्म ‘एक्लै भएनी, मेरो अधुरो प्रेम’ सार्वजनिक

रंग नेपाल २०८१ मंसिर २४ मा प्रकाशित

काठमाडौं । आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी, मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस म्युजिकल फिल्मले प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडालाई कलात्मक चित्रण गरेको छ । यसले अधुरो प्रेमको वेदना र ब्रेकअपपछि मनमा उठ्ने भावनाहरूको गहिराइलाई सङ्गीत र अभिनयमार्फत प्रस्तुत गरेको छ ।

गीतमा हर्क साउदको शब्द, सुजन चापागाईँ र विद्या तिवारीको स्वर, तथा सुजन चापागाईँकै सङ्गीत रहेको छ । सङ्गीत निर्माण, मिक्सिङ र मास्टरिङ कोविद बज्रले गरेका छन् । विश्वास लामाले न्यारेशन लेखेका छन् भने यसका कलाकार समेत रहेका चर्चित कथा वाचक साइग्रेस पोखरेलले सुनाएको न्यारेशनले गीतलाई थप प्रभावशाली बनाएको छ ।

अभिषेक सुवेदीले लेखन तथा निर्देशन गरेका भिडियोमा अभिनयको मुख्य भूमिका साईग्रेस र माया लुना खानले निभाएका छन् । अन्य कलाकारहरूमा शङ्कर पराजुली, सुधन पोखरेल र विजय नेपाल रहेका छन् । यसमा निमा लामाको मेकअप, सुजन रत्न परियारको कस्ट्युम डिजाइन, र तीव्रता खड्काको प्रोडक्सन डिजाइन रहेको छ ।

भिडियो सम्पादन र कलर ग्रेडिङ कृष्ण भण्डारीले गरेका हुन् भने छायाङ्कन चिन्तन राजभण्डारीको निर्देशनमा भएको हो । यस परियोजनाको सम्पूर्ण सुपरिवेक्षण नवीन चौहानले गरेका हुन् ।

गायक तथा सङ्गीतकार सुजन चापागाईँले आफूलाई व्यक्तिगत रूपमा मन पर्ने जनरसँग पहिलो पटक साक्षात्कार गर्ने जमर्को मिलेको र यो गीत तिनै तमाम पीडित हृदयहरूप्रति समर्पित रहेको बताए ।

आर्टमाण्डुका निर्देशक नवीन चौहानले यो प्रोजेक्ट आर्टमाण्डुको लागि विशेष रहेको बताए । उनले भने, ‘हामीले यस पटक प्रिय कथा वाचक साईग्रेस पोखरेलज्यूसँग कलाकारका रूपमा सहकार्य गर्न पाउँदा गर्व महसुस गरेका छौँ । माया लुना खान, चिन्तन राजभण्डारी र अभिषेक सुवेदीसँगको सहकार्यले यो म्युजिकललाई अझै स्मरणीय बनाएको छ ।’

‘एक्लै भएनी, मेरो अधुरो प्रेम’ म्युजिकल फिल्म सार्वजनिक भएको केही घण्टामा नै दर्शक र श्रोतामाझ चर्चित बनिसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट