मुम्बई । बिहीबारबाट विश्वव्यापी रिलिज भएको दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको चलचित्र ‘पुष्पा २’ले एकपछि अर्को गर्दै नयाँ नयाँ व्यवसायिक रेकर्ड बनाएको छ । यो चलचित्रले रिलिज भएको पहिलो दिन भारतमा मात्रै करिब १६५ करोडको व्यापार गरेको थियो । एक दिनमा यतिधेरै व्यापार अहिलेसम्म कुनै पनि भारतीय चलचित्रले गरेको छैन ।
यो चलचित्र रिलिज भएको पहिलो दिनदेखि नै विभिन्न चलचित्र घरमा त लगातार २४ घण्टासम्म पुष्पा २ प्रदर्शन भएको छ । दर्शकको जतिबेला पनि चलचित्र हेर्नको लागि माग गरेपछि मुम्बई, दिल्लीसहित दक्षिण भारतका केही महानगरले यो चलचित्र रातभरीको शो पनि प्रदर्शन गरेका छन् । हल सञ्चालकको अनुरोधमा महानगरमा २४ घण्टा नै शोको लागि सुरक्षा र अनुमति समेत दिइएको छ ।
यसरी पहिलो दिनमा १६५ करोडको व्यापार गरेको यो चलचित्रले दोश्रो दिन शुक्रबार पनि सबैभन्दा बढी कमाई गर्ने भारतीय चलचित्रको रेकर्ड बनाएको छ । यस अघिका चलचित्रले बनाएको रेकर्डहरु तोड्दै दोस्रो दिन करिब ९० करोड कमाएर पुष्पा २ले नयाँ रेकर्ड तोडेको हो । यसरी पुष्पा २ ले २ दिनमा मात्रै भारतमा २६५ करोडको व्यापार गरेको छ । यो पनि पुष्पा २ को नयाँ व्यवसायिक रेकर्ड हो ।
पुष्पा २ ले दोश्रो दिन गरेको ब्यापार यस अघि कुनै पनि चलचित्रले पहिलो दिनमा समेत गर्न सकेको थिएन । पुष्पा २ को दोश्रो दिनको कमाईको अगाडी हालसालै रिलिज भएका दक्षिण भारतीय स्टारहरु एनटीआरको चलचित्र देवरा र प्रभासको चलचित्र सालारको कमाई पनि फिक्का भएको छ । जवकी प्रवासको सालारले दोश्रो दिन भारतमा १९.७ करोडको व्यापार गरेको थियो ।
यस्तै, जुनियर एनटीआरको चलचित्र देवरा पार्ट १ ले दोस्रो दिन करिब ३८.२ करोड कमाएको थियो । यसरी पुष्पा २ दो दोश्रो दिनमा ९० करोडको व्यापार गरेर यी दुई चलचित्रलाई पनि व्यवसायिक रुपमा धेरै नै पछि पारेको छ ।
भारतका महानगरका बहुसँख्यक चलचित्र घरमा तीन दिनपछिसम्मको शोहरु बुक भएपछि त्यहाँ चलचित्र घरमा रातभर पनि चलचित्र चलाउने परेको हल सञ्चालकहरुले बताएका छन् । यो चलचित्र आगामी मंगलबारसम्मको लागि पुरै टिकट अग्रिम बिक्री भइसकेको छ । यतिबेला यो चलचित्रमा दर्शकको घुईंचो देखेर मानिसहरू छक्क परेका छन् ।
अर्को तर्फ भारतमा एक दिनमा अहिलेसम्मकै बढी शो प्रदर्शन हुने रेकर्ड पनि पुष्पा २ ले बनाएको छ । यो चलचित्र २४ घन्टा नै निरन्तर प्रदर्शन भएकै कारण यसले एक दिनमा अहिलेसम्मकै सबैभन्दा बढी शो प्रदर्शन हुने चलचित्रको रेकर्ड समेत बनाएको हो ।
यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् । चलचित्रको लम्बाई ३ घण्टा २० मिनटको रहेको छ । यो चलचित्रले भारतमा जस्तै विश्वव्यापी रुपमा राम्रो व्यापार गरिरहेको पनि निर्देशक सुकुमारले बताएका छन् । आफ्नो चलचित्र यतिलामो भए पनि यसले ब्यापारमा नयाँ रेकर्ड बनाउने सुकुमारले यस अघि नै गरेका थिए । उनको सो दाबी अहिले सार्थक भएको छ । यो चलचित्रमा अल्लु अर्जुन, फहद फासिल, रश्मिका मण्डना, श्रीवल्ली, अनसूया भारद्वाज, जगदीश प्रताप बन्दरी, दिबी वड्थ्य, जगपति बाबु, प्रकाश राज, धनञ्जय, अजय घोषलगायतको मुख्य भूमिका रहेको छ ।