काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँको अभिनित फिल्म ‘मायावी’को रिलिज मिति पछि सरेको छ । यसअघि कात्तिक १५ गते (लक्ष्मीपूजा)मा प्रदर्शन हुने भनिएको मायावी अब पुस २६ गते प्रदर्शन हुने भएको छ ।
यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’को प्रदर्शन मिति सारिएको हो ।
फिल्मका निर्देशक दिवाकर भट्टराईले दुवै चलचित्रलाई शुभकामना दिदै मार्ग प्रसस्त गरेको र मायावी पुस २६ गते रिलिज हुने जानकारी दिएका छन् ।
‘मायावी’ले प्रदर्शन मिति घोषणा गर्दा लक्ष्मीपूजामा नेपाली फिल्म ‘एक्टरः टेक वान’ आउने निश्चित थियो तर पछि अर्को नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’ थपियो ।
पल अभिनित रावायण बक्स अफिसमा फ्लप भएपछि निर्माताले तत्कालका लागि मिति पछि सारेको विश्लेषण गरिएको छ । अब यो फिल्म पुष २६ मा मायावी अर्को फिल्म कार्साङ्सँग भिड्ने भएको छ ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्मको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने छन् । यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठलगायतको पनि अभिनय छ ।