‘स्त्री-२’ सय करोड क्लबमा

रंग नेपाल २०८१ भदौ २ मा प्रकाशित

काठमाडौं । बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिनमा नै सय करोडको आँकडा पार गरेर नयाँ किर्तिमान बनाएको छ ।

फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

फिल्मले अहिलेसम्म १०० करोड १० लाख कमाई गरेको छ । फिल्मले रिलिजको पहिलो दिन बिहीबार ५५ करोड ४० लाख कमाई गरेको थियो ।

त्यस्तै, फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । फिल्मले आगामी सोमबारसम्म २०० करोडको आँकडा पार गर्नसक्ने अनुमान गरिएको छ ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडि पारेको छ ।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट