जापानमा बिक्री भयो ‘मोदीबेनी’, कहिले हुन्छ रिलिज ?

रंग नेपाल २०८१ साउन २१ मा प्रकाशित

काठमाडौं । शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ‘भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो ।

चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सहनिर्माता हरि श्रेष्ठले बताए । उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए । जापानमा केही दिनमा सार्वजनिक प्रदर्शनमा आउने श्रेष्ठले बताए ।

निर्देशक शङ्कर कोइरालाकाअनुसार दर्शकले चलचित्रको ‘थ्रिलिङ पार्ट’लाई रुचाएका छन् । शुक्रबार र शनिबार दर्शक भेट्न विभिन्न हल पुगेका निर्देशक कोइरालाले ‘मोदीबेनी’को ‘सेकेन्ड हाफ’लाई बढी रुचाएको पाइएको बताए ।

‘चलचित्रको ‘सेकेन्ड हाफ’लाई बढी रुचाएको पाएको छु । पहिलो भागमा क्यारेक्टरको बेस तयार गरी दोस्रो भागमा थ्रिलिङ दृश्यहरू राखेका थियौँ । सोही कुरा दर्शकलाई चित्त बुझेको छ ।’ कोइरालाले भने ।

उनले चलचित्रमा उठान गरिएको विषय र विश्वासै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको प्रतिक्रिया आफूले पाएको बताए । ‘दर्शकको प्रतिक्रिया बुझ्दा ‘वर्ड अफ माउथ’ले राम्रै काम गर्ने देखिन्छ ।’ उनले भने ।

चलचित्र रिलिजपछि कलाकारहरू वर्षा शिवाकोटी, नवअभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेतीलगायत दर्शक भेट्न काठमाडौंका विभिन्न हल पुगेका थिए ।

चलचित्रलाई डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट