‘पुजार सार्की’को जापान शोमा एकसाथ १५ सयले हेरे फिल्म

रंग नेपाल २०८१ जेठ १४ मा प्रकाशित

काठमाडौं । गत बिहीबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई जापानमा पनि देखाइएको छ । जापानको शोमा एकसाथ १ हजार ५ सय दर्शकले चलचित्र हेरेको आयोजकले दाबी गरेको छ । उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक विकास सुवेदी टोकियो पुगेका थिए ।

नाकानो जेरो हलमा भएको शोमा नै बसेर पहिलो पटक अभिनेता शाहले यो चलचित्र हेरे । नेपालमा रिलिज भएको समयमा अर्को चलचित्रको छायांकन व्यस्त रहेको र छोटो समयको लागि काठमाडौं रहेकाले उनले ‘पुजार सार्की’ हेर्न नपाएको बताएका छन् ।

अहिले सामाजिक सञ्जालहरूमा शो को भिडियो र फोटोहरू भाइरल भइरहेका छन् । भिडियो र फोटोमा दर्शकको ठूलो भीड र क्रेज देखिएको छ ।

चलचित्रका जापान शो का आयोजक मध्येका एक पत्रकार सचिन आचार्यले ‘आउट अफ कन्ट्रोल’ भीडका साथ चलचित्र चलाइएको बताए । ‘हामीले भीड थाम्नै नसक्ने अवस्था थियो । व्यवस्थापन मिलाउन खोज्दा भिड ‘आउट अफ कन्ट्रोल’ भयो । यो चलचित्र र अभिनेता पल शाहको क्रेज देखेर हामी छक्क परेका छौँ ।’

उनले थपे, ‘तीन वर्षअघि ‘कबड्डी ४’ रिलिज गर्दा पनि लगभग यस्तै भएको थियो, तर अहिले जस्तो भने कहिल्यै भएको थिएन । हलको सिट संख्या १२ सय जनाको हो, तर १५ सयजना भन्दा धेरै भएपछि उभिएर र भुइँमै बसेर ‘पुजार सार्की’ हेरे । हल व्यवस्थापनले राख्न नमान्दा पनि दर्शकहरू हलबाट निस्किन नमानेपछि १५ सयले नै हेरे ।’

मुख्य आयोजक खिमराज शाहले जापानमा ‘पुजार सार्की’ले इतिहास कायम गरेको बताए । उनी भन्छन्, ‘यहाँ यो चलचित्रको ऐतिहासिक शो सम्पन्न भयो । उत्कृष्ट प्रतिक्रिया पनि पायौँ ।’

बिहीबार रिलिज भएदेखि नै ‘पुजार सार्की’ले ब्लकबस्टर व्यापार गरिरहेको छ । पलले रिलिजको पहिलो दिन बिहीबार मध्यान्हदेखि काठमाडौंका विभिन्न हल भिजिट गरेर जापान तर्फ लागेका थिए ।

दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतको प्रमुख अभिनय रहेको छ । किङ्गडम नेटवर्कको ब्यानरमा सुबास भुसालले निर्माण गरेको ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्ट हो भने नेपाल वितरक आरआर फिल्मस हो । आज ‘पुजार सार्की’ रिलिजको पाँचौँ दिन सोमबार पनि काठमाडौं र काठमाडौं बाहिरका हलमा शो भैरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट