काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ को छायाँकन सकिएको छ । एक महिना देखि धरानमा भई रहेको सुटिङ सकिएको छ । चलचित्रको सम्पूर्ण छायाँकन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले दिए ।
चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक चलचित्र हो । चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।
चलचित्रको छायाँकन तोकिएकै समयमा सहज वातावरणमा सम्पन्न भएको छ । छायाँकनको क्रममा स्थानीयले ठूलो सहयोग गरेको निर्माता नवीन मानन्धरले बताए । चलचित्रको छिट्टै पोस्ट प्रोडक्सनको काम अघि बढ्ने निर्माण टिमले जानकारी दिए ।
दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । कमेडी जनराको चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् ।
चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ । ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो ।
चलचित्रमा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ । चलचित्रमा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । चलचित्रमा मेयर हर्क साम्पाङको विशेष भूमिका रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गरेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ । चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् ।
दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को रहेको छ । चलचित्र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ ।