दर्शक नआएपछि लमजुङको फिल्म हल बन्द

रंग नेपाल २०८० माघ २५ मा प्रकाशित

लमजुङ । लमजुङ बेसीशहर नगरपालिका–८ मा रहेको जिल्लाको एक मात्र चलचित्र भवन अन्नपूर्ण चलचित्र मन्दिर तीन हप्तादेखि बन्द छ ।

सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले जानकारी दिए । बन्द हुनुअघिसम्म हिन्दी चलचित्र ‘सालर’ प्रदर्शन गरिएको थियो । सो चलचित्रले पनि दर्शक तान्न नसकेको उनले बताए ।

दुई सय ७३ सिट क्षमताको यो हलमा विगतमा सहरबजारबाट मात्र नभई ग्रामीण भेगबाट पनि दर्शक आउँदा ‘हाउस फुल’ हुन्थ्यो ।

सञ्चालक बस्नेतका अनुसार चलचित्र हेर्ने युवापुस्ता वैदेशिक रोजगारीमा गएका तथा स्वदेशमा रहेकाहरूले पनि इन्टरनेटको अधिकतम प्रयोग गर्दै चलचित्रको मनोरञ्जन वैकल्पिक रूपमा लिन थालेपछि हलमा आएर सिनेमा हेर्ने दर्शकको सङ्ख्या ह्वात्तै घटेको छ ।

हल बन्द गर्नुपर्दा दैनिक पाँच हजार घाटा हुने गरेको उनी बताउँछन् । ‘हल बन्द छ तर तीन जना कर्मचारीलाई मासिक तलब दिएर राखेको छु ।’ उनी भन्छन् । आगामी शुक्रबारदेखि दयाहाङ राई अभिनीत नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ देखाउने योजनामा रहेको बताउँदै उनले उक्त चलचित्रले दर्शन तान्ने अपेक्षा आफूले गरेको सुनाए ।

अन्नपूर्ण चलचित्र मन्दिर विसं २०४५ मा स्थापना भएको थियो । विगतमा जिल्लामा यो बाहेक सुन्दरबजार, भोटेओडार, भोर्लेटार, सोती पसललगायत स्थानमा हलहरु सञ्चालनमा थिए  । सुन्दरबजारमा रहेको शान्ति चलचित्र हल सात वर्ष अघिदेखि पूर्ण रुपमा बन्द छ ।

धेरै पढिएका

पछिल्ला अपडेट