नीफमा ४० देशका ८८ फिल्म छनोट

रंग नेपाल २०८० माघ २ मा प्रकाशित

काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) का लागि यो वर्ष ४० देशका ८८ फिल्म छनोट भएका छन् ।

आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौं हुने महोत्सवको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान छ । प्रतिष्ठानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट फिल्मलाई महोत्सवमा प्रदर्शन गरिने जनाएको छ ।

प्रतिष्ठान तथा महोत्सवका अध्यक्ष केपी पाठकले यसपटकको महोत्सवका लागि ६० देशबाट ५ सय बढी फिल्म प्राप्त भएको बताए । ‘यीमध्ये हामीले ४० देशका ८८ फिल्ममात्र छनोट गर्न सक्यौं । छानिएका फिल्महरु कान्स, लोकार्नो, बर्लिनजस्ता प्रतिष्ठित फिल्ममा प्रदर्शन भइसकेका छन्,’ उनले भने ।

महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरी दुवै भागमा फिचर फिल्म, सर्ट फिल्म र वृत्तचित्र विधामा अवार्ड प्रदान गरिने उनले बताए । यस वर्ष छनोट भएका फिल्महरु क्युएफएक्स चेनअन्तर्गत सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन गरिने भएको छ ।

अध्यक्ष पाठकले यस वर्षबाट निफले एकै समयमा अन्य प्रदेशहरुमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरेको बताए । ‘प्रदेशमा हुने फेस्टिभलमा महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका फिल्म प्रदर्शन हुनेछन्,’ उनले भने ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिको ‘गौतमबुद्ध अवार्ड,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ(आइएफएफएस) डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ । त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेष्ट अवार्ड’ र सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलर राशिको ‘वाग्मती अवार्ड’ प्रदान गरिनेछ ।

यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी, सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी, फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

अध्यक्ष पाठकका अनुसार यो वर्षदेखि दर्शकको रुचि, बानी र सुझावको तथ्यांक संकलन गर्न देशभरबाट अनलाइन भोटिङ र सर्भेबाट प्राप्त मतका आधारमा ‘अडियन्स च्वाइस अवार्ड’ प्रदान गरिने भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट