‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ सिनेमाघरमा

रंग नेपाल २०८० पुष २७ मा प्रकाशित

काठमाडौं । आज शुक्रबारबाट नेपालमा दुई नेपाली फिल्म ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ देशभरका सिनेमाघरमा रिलिज हुँदैछन् । बाबुछोरीको सम्बन्धको कथा बोल्ने फिल्म ‘चित्रा’मा घनश्याम लामिछाने र प्रेमकथाको ‘पर्खि बसें तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ । घनश्याम र दीपकको यो निर्देशकीय कमव्याक फिल्म हो ।

घनश्यामले यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता समीक्षात्मक रुपमा राम्रा फिल्म निर्देशन गरेका थिए । घनश्यामका अनुसार ‘चित्रा’ले विशेष रुपमा बाबुछोरीको कथालाई प्रस्तुत गरेको छ । ‘बाबुछोरीको कथासँगै अन्य कथाहरु पनि जोडिँदै जान्छन् । फिल्मले साथीत्वको कथालाई पनि प्राथमिकता दिएको छ’, उनी भन्छन् ।

फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता आशिष थापा मगर र कार्यकारी निर्माता सन्तोष अधिकारी हुन् । यो फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको हो ।

त्यस्तै निर्देशक दीपकको ‘पर्खि बसें तिमीलाई’ २७ औं निर्देशकीय फिल्म हो । फिल्म ‘पर्खि बसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीलाई नेपाली रजतपटमा डेब्यु गराएका दीपकले ‘पर्खि बसें तिमीलाई’बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीजस्ता नयाँ अनुहारलाई नेपाली फिल्ममा भित्र्याउँदैछन् ।

‘मेरो तीन दशकको फिल्म करियरमा दर्शकलाई प्रेमकथाका फिल्म दिएको छु । पर्खि बसें तिमीलाई पनि त्यसैको निरन्तरता हो,’ दीपक भन्छन् । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा किरण र रक्षासँगै शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्ममा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह–निर्माण छ ।

धेरै पढिएका

पछिल्ला अपडेट