‘गाउँ आएको बाटो’ युरोपको ‘गोटेबर्ग महोत्सव’मा छनोट

रंग नेपाल २०८० पुष २६ मा प्रकाशित

काठमाडौं ।  नविन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ युरोप (स्वीडेन) को ४७औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ ।

यही जनवरी २६ देखि फेब्रुअरी ४ तारिखसम्म चल्ने महोत्सवमा फिल्मको युरोपियन प्रिमियर हुने जनाइएको छ । यसअघि यो फिल्म टोरन्टो फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभल तथा मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएर प्रदर्शन भैसकेको छ ।

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा आदिको अभिनय छ । फिल्मले गाँउमा सडक आएपछि बाबु-छोराको सम्बन्धमा आउने उतार-चढावलाई उठाएको छ । झण्डै ६ वर्षपछि सुब्बाले निर्देशनमा कमब्याक गरेकाले पनि ‘गाउँ आएको बाटो’प्रति दर्शकको ठूलो अपेक्षा रहेको छ ।

अमेरिकी छायाँकार मार्किन कापरोनको छायांकन रहेको फिल्ममा महेश राई र नविन सुब्बा स्वयंको पटकथा लेखन छ ।

फिल्मको निर्मातामा अमोद राई र निर्देशक सुब्बा छन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा रहेका छन् ।नेपालमा यो फिल्म ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मसको सहकार्यमा आगामी जेठ १८ बाट सार्वजनिक प्रर्दशनमा आउँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट