हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्नका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा फोटो प्रदर्शनी सुरु भएको छ ।
हेटौंडाको मुख्य चोक बुद्धचोकमा आज शुक्रबारबाट दुई दिने फोटो प्रदर्शनी सुरु भएको हो । प्रर्दशनीको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले हेटौंडामा भएको थाहा फोटो प्रर्दशनीले थाहामा पर्यटकहरुको संख्यामा वृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताइन् । फोटो प्रर्दशनीले नेपाली पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्न सहयोग गर्ने लामाको भनाई रहेको थियो । कार्यक्रममा थाहा–३ का वडाध्यक्ष हृदयन्द्र रायमाझीले थाहालाई पर्यटन क्षेत्रबाट विश्वसामु चिनाउनको लागि फोटो प्रर्दशनी पनि एउटा माध्यम रहेको उल्लेख गरे ।
प्रर्दशनीमा थाहाको पर्यटकीय क्षेत्रको तस्वीरको साथै थाहा क्षेत्रमा रहेको सांस्कृतिक, धार्मिक पक्षहरु समेटिएको तस्वीरहरु राखिएको छ ।
बागमती प्रदेश सरकारले सन् २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको ४ दिनपछि सुरु भएको प्रर्दशनीले प्रदेशको पर्यटनलाई टेवा पुर्याउने फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए । उनका अनुसार प्रदर्शनीमा थाहाका पत्रकार तथा फोटोग्राफरहरु खिचेका ६० वटा तस्वीरहरु रहेका छन् ।
थाहा नगरपालिकाको आयोजना भएको फोटो प्रर्दशनीमा हेटौंडा उपमहानगरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र फोटो पत्रकार संघ मकवानपुरको सहयोग तथा फरक सोच अभियान र शिखर क्लब लगायत संघसंस्थाहरुको सहयोग रहेको छ ।
भोलि शनिबारसम्म जारी रहने फोटो प्रदर्शनीमा ५ हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।