तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवको तयारी पूरा

रंग नेपाल २०८० मंसिर १५ मा प्रकाशित

काठमाडौं । भोलिदेखि सुरु हुने पाँचदिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तराष्ट्रिय वाटरकलर फेस्टिबल)को सबै तयारी पूरा भएको छ ।

कूल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा विदेशी ३० सहित झण्डै दुई सय कलाकारको प्रत्यक्ष सहभागिता रहने कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिए । नेपाल कला परिषद्मा भोलि महोत्सव उद्घाटन हुनेछ ।

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यान्मा, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइएको तीन सय ४० कलासिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ ।

अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस)नेपालको आयोजनामा हुन लागेको मकला महोत्सव यही मंसिर १६ गतेदेखि २० गतेसम्म चल्नेछ । उद्घाटन पछि परिषद्मा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने समाजका अध्यक्ष एवं महोत्सव संयोजक गुरुङले बताए ।

महोत्सवबारे आज पत्रकारलाई जानकारी दिँदै संयोजक गुरुङले कला पारखीलाई भोलिदेखि हुने कार्यक्रममा सहभागिताका लागि अनुरोध पनि गरेका छन् ।

उनले झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्योदय र सूर्यस्तको दृष्यावलोकन गराई कला सिर्जना गराइने छ ।

यसखालको कार्यक्रममा नेपाली कलाकारले विदेशको र विदेशका कलाकारले नेपालको कला सिर्जनासम्बन्धी प्रविधि तथा ज्ञान चिन्न र जान्न सकिने समाजका सदस्य डिबी राईले बताए । यसपाली कलाकारलाई सम्मान तथा पुरस्कारकोसमेत व्यवस्था गरिएको छ ।

धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्र जलरङबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पुर्‍याउन पस्किन पाइने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको समाजका वरिष्ठ उपाध्यक्ष दिराम पापलालीले बताए । यसअघि समाजले महोत्सवकैरुपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभन्नि क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट