काठमाडौं । तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । काठमाडौंको चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको सहभागिता थियो ।
महोत्सवकै अवसर पारेर चौथो आइर्वाट लघु चलचित्र प्रतियोगिताका विजेताहरूलाई सञ्चार तथा सूचनामन्त्री रेखा शर्माको उपस्थितिमा पुरस्कार प्रदान गरिएको हो । महिलाद्वारा निर्देशित ३ देखि १५ मिनेट लामा चलचित्रहरूले सहभागिता जनाएको सो प्रतियोगितामा अनुष्का अर्यालद्वारा निर्देशित ’सङ्कुल’ प्रथम भयो । त्यस्तै, अनिता स्याङबो निर्देशित ‘वर्थ’, श्रेयन राजभण्डारी निर्देशित ‘अक्वारियम’, पुनम पौडेल निर्देशित ’लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ‘नोटबुक’ले विशेष लघु चलचित्रको पुरस्कार प्राप्त गरे ।
डेलिगेट्सको रूपमा महोत्सवमा सहभागिता जनाउन आइर्वाट भारतकी म्यानेजिङ ट्रस्टी तथा फिल्ममेकर आराधना कोहली कपुर, बङ्गलादेशकी फिल्ममेकर, मानवअधिकारकर्मी तथा पत्रकार सुमी खान, तान्जानियाकी पत्रकार तथा फिल्ममेकर मारियम मोहम्मद हमादी, किर्गिस्तानकी फिल्ममेकर तथा पत्रकार जाम्बी जुजुबालिविभा, आइर्वाट नेपाली संस्थापन वन्दना राणा, आइर्वाट नेपालकी पूर्व अध्यक्ष अनुपा श्रेष्ठ, नेपालकी फिल्म निर्माण सल्लाहकार प्रसुना डङ्गोल लगायतको उपस्थिति थियो । महोत्सवमा भएको ’प्यानल डिस्कसन’मा डेलिगेट्सहरूको सहभागिता थियो ।
महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो । कम्बोडियाको ‘सेक्रेट किलर’, ट्युनिसियाको ‘द नाइट अफ द ब्लाइन्ड मुन’, तान्जानियाको ‘मुहाली’, किर्गिस्तानको ‘सागा अन ओमेन’ लगायतका चलचित्रहरूको प्रदर्शन भएको हो ।
कार्यक्रमको उद्घाटनको क्रममा उपसभामुख राना मगरले फिल्म मेकरले उठान गरेका हरेक कथाले हाम्रो समाज बदल्ने क्षमता राख्ने बताइन् । केही चलचित्र हेरेपछि सम्बोधनको क्रममा उनले भनिन्, “हरेक कथाले हाम्रो समाज बदल्ने क्षमता राख्छ । लैङ्गिक हिंसा महिलालाई मात्र नभई पुरुषलाई पनि हुन्छ भन्ने चलचित्र हेर्न पाइयो । नेपालमा हामीले यस विषयमा बहस समेत सुरु गर्न सकेका छैनौ ।”
उनले भूकम्प र कोभिडको समयमा महिलामाथि भएका हिंसाका थुप्रै घटनाहरूलाई चलचित्र मार्फत देखाउन आग्रह गरिन् । उनले भनिन्, “महामारीका बेला महिलाहरूमाथि थुप्रै हिंसाहरू भए । ती हिंसाका घटनाहरूलाई चलचित्रमार्फत बाहिर ल्याउन जरुरी छ । हामीले देखाउने धेरै कथाहरूले हाम्रो समाज परिवर्तन गर्न सक्छन् ।”
कार्यक्रमको समापन समारोहमा मन्त्री शर्माले समाज परिवर्तनमा महिला चलचित्रकर्मीहरूको प्रयासलाई धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, “हामीले अहिले विभिन्न क्षेत्रमा महिला सशक्तीकरणका अभ्यासहरू भइरहेको देखेका छौँ । चलचित्र क्षेत्रमा समाजलाई सन्देश दिने ढङ्गले जसरी महिला चलचित्रकर्मीहरूले जुन प्रयत्न गरिरहनुभएको छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । यो कामले निरन्तरता पाउन सकोस् ।”
उनले समाजका विभिन्न काममा महिलाले आफ्नो पूरै जीवन कसरी त्याग गर्न सक्छन् भन्ने चलचित्रहरू पनि हेर्न पाएको बताइन् । “महिलालाई किन धर्ती भनिएको हो भन्ने अर्थ यी चलचित्रमा पाइन्छ । यो महोत्सवमा देखाइएका सबै चलचित्रहरू एकदमै प्रेरणादायी छन्”, उनले भनिन् । साथै उनले सरकारले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिने खालका योजनाहरूमा काम गरिरहेको समेत बताइन् । यस्तै, महोत्सवमा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको उपस्थितिमा नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो ।