काठमाडौं । चलचित्र ‘महाभोज’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ ।
चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ ।
सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा चलचित्रका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले चलचित्रमा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गर्छ ।
दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूलाई पनि देखाइएको छ । दुवै पोस्टरहरू रोयल भीमसेनले डिजाइन गरेका हुन् ।
चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् । निर्देशक राउतले ‘महाभोज’ मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथासहित आउने बताए ।
‘महाभोज’ क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।