काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख रुपैयाँ (ग्रस) व्यापार गरेको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’मा छ । यही कारण विसं २०८१ लाई नेपाली चलचित्रको इतिहासमा स्मरणयोग्य बनिसकेको छ ।
अन्तिम चलचित्रका रूपमा ‘पिताम्बर’ र ‘कर्मा’ गत चैत २९ गतेदेखि प्रदर्शन भएको सहित यो वर्ष ‘बक्सअफिस’ को तथ्याङ्कअनुसार ६२ नेपाली चलचित्र प्रदर्शन भएका छन् । यसरी स्वदेशी ६२ चलचित्र प्रदर्शन हुँदा विदेशी ८४ भएका छन् । यो वर्ष नेपाली चलचित्रका दर्शक उलेख्य रूपमा बढेको चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताए ।
उनले भने, ‘यो वर्ष दसैँ र तिहारमा प्रदर्शन भएका चलचित्रले दर्शकलाई चलचित्र भवनमा तान्न सफल भए । स–परिवार नै चलचित्र हेर्न आएको पाइयो । पारिवारिक चलचित्रले दर्शक बढाउन महत्त्वपूर्ण भूमिका खेलेको जस्तो लागेको छ । यस वर्षको सफलताले आउँदो वर्ष चलचित्र निर्माणमा वृद्धि हुनेछ ।’ उनले चलचित्र भवन सञ्चालक (प्रदर्शक)ले यसवर्ष १८ घण्टाभन्दा बढी काम गरेको बताए । वर्षको अन्तिममा प्रदर्शन भएका चलचित्रले राम्रो सुरूआत गरेका छन् ।
यस्तै, आउँदो वर्ष विसं २०८२ को सुरूआती दिन वैशाख १ मा समग्र चलचित्रको व्यापार राम्रो हुने निर्देशक पुर्नेन्दु झाको बुझाइ छ । उनले आउँदो वर्ष नेपाली चलचित्रका लागि महत्त्वपूर्ण भएको बताए ।
‘यो वर्ष प्राप्त सफलताले नयाँ र पुराना दुवै चलचित्रकर्मीको सक्रियता निर्माणमा बढेको छ, आउँदो वर्ष ती चलचित्रकर्मीले चलचित्र लिएर दर्शकसम्म आउनु हुनेछ । नयाँ दर्शकलाई आकर्षित गर्न सके आउँदो वर्ष नेपाली चलचित्रले नयाँ सुरूआत गर्नेछ । यो वर्षको व्यावसायिक सफलतालाई नाघ्नु नै चुनौती देखिएको छ’, निर्देशक झाले भने । उनले आउँदो वर्ष विसं २०८२ ले यस वर्ष बनेको बजारको आकार बढाउन सक्नुपर्नेमा जोड दिए । आउँदो वर्ष विसं २०८२ मा ८० हाराहारीमा चलचित्र प्रदर्शन हुने अनुमान चलचित्रकर्मीले गरेका छन् ।
‘बक्स अफिस’मा रहेको तथ्याङ्कअनुसार ५९ नेपाली चलचित्रले कूल कमाइ एक अर्ब ८० करोड रुपैयाँ गरेको छ । तथ्याङ्क बाँकी रहेका तीन चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’सहित प्रदर्शनरत अन्य नेपाली चलचित्रको व्यापार (ग्रस) पाँच करोड भएको अनुमान चलचित्रकर्मीको छ । यस कारण नेपाली बजारको आकार एक अर्ब ८५ करोड रुपैयाँको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।