काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल शिक्षा विभागले आयोजना गरेको खुल्ला वक्तित्वकला प्रतियोगितामा २८ प्रतियोगीलाई उछिन्दै काभ्रेकी विनिता तामाङले नगद एक लाख रुपैयाँ हात पारेकी छन् ।
‘बौद्धिक र सकारात्मक सोचका युवा: युग परिवर्तनका खम्बा’ भन्ने मूल नाराका साथ सुरु गरिएको युवा साहित्य सम्मेलन २०८१ अन्तर्गत खुल्ला वक्तित्वकला प्रतियोगितामा चितवनका दिगविजय लामिछानेले दोस्रो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ हात पारे ।
त्यसैगरी, धादिङकी इशा थापाले तृतीय स्थान हासिल गरी नगद ३० हजार रुपैयाँ प्राप्त गरिन् । देशैभरका युवाहरूबीच छनोट चरणबाट सफल अन्तिम २८ जना प्रतिस्पर्धीहरू बीच फाइनल प्रतियोगिता गरिएको थियो ।
फाइनल प्रतियोगिताको अध्यक्षता राष्ट्रिय युवा संघ शिक्षा विभाग प्रमुख एवं युवा साहित्य सम्मेलन संयोजक कुबेर अधिकारीले गरेका थिए । सरोज घिमिरे, रूपक अलङ्कार र रूपा खड्काको निर्णायक मण्डलले प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गरेको हो । देशमा व्याप्त निराशा र नकारात्मक सोचको अन्त्य गर्नको लागि युवाहरूले नै पहल गर्नुपर्ने आवश्यकता महसुस गर्दै युवाहरुलाई सकारात्मक सोचले नै देशको विकास गर्नको लागि प्रेरणा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक अधिकारीले जानकारी दिए ।
युवा साहित्य सम्मेलनअन्तर्गत निबन्ध, प्रतियोगिता वक्तित्वकला, गजल र कविता प्रतियोगिताहरू आयोजना भइरहेका छन् । गजल प्रतियोगिता र कविता प्रतियोगिताको प्रस्तुति चैत २९ गते हुने आयोजकले जानकारी दिएको छ ।
युवा साहित्य सम्मेलन २०८१ अन्तर्गत निबन्ध प्रतियोगितामा सहभागी भएका प्रतिस्पर्धीहरूमध्ये अछामका मनोज बुढाले ‘समावेशी लोकतन्त्र राष्ट्र निर्माण र सशक्तिकरणको मूल आधार’ भन्ने शीर्षकमा लेखिएको निबन्धले प्रथम स्थान हासिल गरी ५० हजार रुपैयाँ जित्न सफल भएका छन् ।
त्यसैगरी, रामेछापका ज्योति घिमिरेले ‘व्यावसायिक र आधुनिक कृषिमा लगानी आत्मनिर्भर नेपालको थालनी’ भन्ने शीर्षकमा लेखिएको निबन्धले दोस्रो स्थान हासिल गरी ३० हजार रुपैयाँ जित्न सफल भएका थिए ।
त्यसैगरी, प्युठानकी देबु गिरीले ‘सामाजिक सञ्जालको तीव्र गति सूचना प्रसार र सामाजिक सुधारमा तत्काल प्रगति’ शीर्षकमा लेखेको निबन्धले तेस्रो स्थान हासिल गरी २० हजार रुपैयाँ जित्न सफल भइन् ।
युवा संघ नेपालका केन्द्रीय सचिव समेत रहेका अधिकारीका अनुसार यही चैत २९ गते शुक्रबारका दिन कविता र गजल विधामा छनोट भएका २५–२५ जना प्रतिस्पर्धीहरू माझ अन्तिम चरणको प्रतियोगिता नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ ।