काठमाडौं । अभिनेता दीपकराज गिरी गायक तथा अभिनेता प्रकाश सपुतको पक्षमा खुलेका छन् । सपुतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि उनलाई सामाजिक सञ्जालमा आलोचना गरिएको विषयमा गिरीले आपत्ति जनाएका हुन् ।
फेसबुकमा आफ्नो छोटो टिप्पणीमा गिरीले लेखेका छन्, ‘प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार बहिष्कार भनियो !! मानौँ तारिफको सट्टा गाली गरेको भए ? अर्को पक्षले बहिष्कार भन्थ्यो होला यस्को अर्थ समाज क्रुरता तर्फ…. ।’
कलाकार गिरीले आफ्नो टिप्पणीमार्फत समाजमा बढ्दो असहिष्णुताप्रति चिन्ता व्यक्त गरेका छन् ।
सपुतले हालै ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीको व्यक्तित्वबारे खुलेरै प्रशंसा गरेका थिए । यसपछि केही अराजक मानसिकता बोकेका व्यक्तिहरूले सामाजिक सञ्जालमा सपुतको आलोचना गर्नुका साथै उनको निर्देशनमा बनेको चलचित्र बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए ।