मानसी घोषले जितिन् इन्डियन आइडल–१५ को उपाधि

रंग नेपाल २०८१ चैत २४ मा प्रकाशित

मुम्बई । कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडल–१५ को विजेता घोषित भएकी छन् ।

फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड्गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रो स्थानमा राख्दै उनी प्रथम भएकी हुन् । फाइनलमा मानसी, सुभाजित र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा भए पनि भोटका आधारमा मानसी विजयी घोषित भएकी हुन् ।

पुरस्कार स्वरूप उनले विजयी ट्रफीसहित २५ लाखको चेक र कार प्राप्त गरेकी छिन् भने दोस्रो र तेस्रो हुने क्रमशः सुभाजित र स्नेहाले ५–५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस वर्ष शोको फाइनलमा बंगालको दबदबा देखियो । शीर्ष पाँच सहभागी मध्ये तीन जना पश्चिम बंगालका थिए । मानसी र सुभाजितको मित्रता शोमा आउनु अघिको हो र शोमा दुवैले एकअर्कालाई दाजुभाई र बहिनीको रूपमा मान्न गर्दथे ।

विजेता बनेपछि मानसीले भनिन्, ‘मैले यो ट्रफी जितेको छु भनेर अझै पत्याउन सकिरहेको छैन । म भाग्यमानी छु कि मलाई मेरा आमाबुवा, गुरु, दर्शक र निर्णायकबाट यति धेरै माया मिलेको छ । अहिले मेरो दिमागमा धेरै कुरा चलिरहेको छ र म केही भन्न सक्दिन् ।’

२४ वर्षीया मानसीलाई बाल्यकालदेखि नै नाच र गाउन दुवैको मन थियो । तर, उनले नृत्यभन्दा गायन रोजिन् र इन्डियन आइडल बनेर आफूलाई प्रमाणित गरिन् । अब उनी संगीत क्षेत्रमा थप करियर बनाउन मुम्बई मै बस्ने योजनामा ​​छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट