काठमाडौं । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’मा अभिनेता प्रकाश घिमिरे भित्रिएका छन् ।
फिल्मको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका थिए । निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि अभिनेता घिमीरेलाई अनुबन्धित गरेको हो ।
चैत तेस्रो साताबाट छायांकनको तयारीमा रहेको ‘डल्लेले इन्ट्री मार्यो’मा सागर लम्साल, प्रकाश घिमिरेका साथमा रवीन्द्र झालगायतका चर्चित कलाकार अनुबन्धित भइरहेका छन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको निर्मातामा सावित्रा चिलुवाल,आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत छन् ।
बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहेको फिल्म उषा फिल्मसको ब्यानरमा निर्माण हुँदैछ ।
फिल्मका अन्य कलाकार र प्राविधिकको चयन कार्य धमाधम भइरहेको जानकारी निर्देशक गिरीले दिएका छन् । उनले आफ्नो फिल्म तिहारको अवसरमा लक्ष्मीपूजामा प्रदर्शन गरिने बताएका छन् ।