काठमाडौं । ‘वसन्त पञ्चमी’को शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ ।
रियालिटी शो ‘कमेडी किड्स’मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर व्हाट्स एप, जिमेल अथवा भाइबरमा पठाउन सक्नेछन् । भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ । सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन् ।
डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृष्ट छानेर शोको फर्म्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक सन्तोष खनालले बताए । भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिबार्य समावेश गर्नुपर्नेछ । भिडियो पठाउने जिमेल comedykids.npl@gmail.com रहेको छ भने नम्बर ९७०२०९१४२१ रहेको छ ।
बालबालिकाहरुलाई लक्षित गरी निर्माण गरिने शोमा ४ देखि १४ वर्षसम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताए । सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल भइसकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजक टिमले जानकारी दिएको छ ।
डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिङ पार्टनरमा ओएसआर कनेक्ट रहेको छ । रियालिटी शो राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुनेछ । प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् ।