काठमाडौं । नेपाली चलचित्र ‘सारंग’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको हो ।
प्रिमियरमा शो पछि सञ्चारकर्मीहरसँग कुराकानी गर्दै नायिका ऋचा शर्माले चलचित्र ‘सारंग’ले आफ्नो जीवनमा ठूलो पाठ सिकाएको बताइन् । दर्शकले धेरै खालको सिनेमा रुचाउने भएको कारण सिनेमा मन पराउने हो कि नपराउने भन्ने जोखिम रहेको पनि उनले बताइन् ।
उनले भनिन्, ‘म पनि स्वयम् आमा भएको कारणले पनि चलचित्रबाट मैले मेरो लागि ठूलो पाठको रुपमा पनि लिएको छु । हरेक सिनेमा जोखिम हो भन्छु । अहिलेको समयमा पनि दर्शकले विभिन्न खालको सिनेमा खोजिरहनु भएको छ । भन्न नै सकिन्न कुन सिनेमा ले के कस्तो गर्छ भनेर त्यसैले जोखिम त लिएकै हो ।’
त्यस्तै, नायक उत्पल झाले बच्चाहरुरुको काम र सिनेमा समग्र रुपमा राम्रो बनेको कारण परिवार नै गएर हेर्न आग्रह गरे । जनताको प्रतिक्रिया कस्तो आउछ भनेर आफू एकदमै उत्साहित भएको पनि बताउँछन् । उनले भने, ‘बच्चाहरुरुको काम र सिनेमा समग्र रुपमा मिठो बनेको छ । सबै परिवारसहित आएर हेर्न सक्नुहुने छ । सबै वर्गसँग सम्बन्धित छ । अविभावक, शिक्षा वर्गका साथै साना बालबच्चाले पनि सजिलै बुझ्न सक्ने सिनेमा बनेको छ । एकचोटी आएर हेर्नुहोस् र हामीलाई सुझाव दिनुहोस् । जनताको प्रतिक्रिया कस्तो आउछ भनेर एकदमै उत्साहित छु ।’