काठमाडौं । सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गरेको राष्ट्रभावले ओतप्रोत गीत भिडियोसहित रिलिज भएको छ ।
वरिष्ठ गायक तथा संगीतकार शिशिर योगीले स्वर दिएको गीत कवयित्री अधिकारीको आफ्नै युट्युब च्यानल सिर्जनाको चौतारीमार्फत बुधबार रिलिज भएको हो । उनले राष्ट्रको सम्मान स्वरूप कोरेका शब्दहरुमा गाइएको गीत ‘सहिद दिवस’को अवसर पारी भिडियोसहित रिलिज गरिएको हो ।
देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली, जुट नेपाली’मा अगाडि भनिएको छ ‘पहाड हाम्रै हो, तराई हाम्रै हो, सबै मिलेमा, देशलाई राम्रै हो । उठ नेपाली, जुट जुट नेपाली–२, समृद्ध नेपाल हेर्नु छ, न फूट नेपाली, उठ नेपाली लौ जुट नेपाली–२’
युट्युब च्यानलमार्फत सार्वजनिक भएको केही घण्टामै भिडियोसहितको गीतले धेरैको मन जितिसकेको बताइएको छ । मनोहर सुनामले संगीत संयोजन गरेको गीत दील समर्पणले रेकर्ड गरेका हुन् ।
प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको दृश्यांकन भने वीरेन्द्र भाट विपिनले गरेका छन् । एकौस्टिक नेपालमा रेकर्डिङ भएको गीतको पोस्ट प्रोडक्सन वल्र्ड कभर मिडिया प्रालिले गरेको हो ।
चर्चित गायक योगीले गीतको शब्दको भावले आफ्नो मन छोएकाले त्यस गीत आफूले गाएको प्रतिक्रिया दिए । उनले यो गीत आजको युगको आवश्यकता भएको र आजको नेपाल र नेपाली जनजनको नारा भएको भन्दै संगीत गर्दा र गाउँदा आफू निक्कै भावुक भएको बताए ।
गीतकार अधिकारीले आफूले नेपालीहरुलाई एकताको सन्देशसहित फुटेर होइन जुटेर अघि बढ्न र राष्ट्रियताप्रति गम्भीर बन्न आग्रह गर्ने उदेश्यले गीत सिर्जना गरेको जानकारी दिइन् ।