काठमाडौं । चलचित्र ‘वीर विक्रम’, ‘लिली बिलि’, ‘ब्लाइण्ड रक्स’, ‘गोर्खा वारियर’, ‘बबी’, जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरिसकेका निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ ।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र लभस्टोरी जनरामा बन्नेछ । राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको अर्को साता टाइटल रिभिल गरिने निर्माण टिमले बताएको छ ।
प्रेम कथामा बन्ने चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुनेछ । चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए । चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।