काठमाडौं । गायिका शान्तिश्री परियार र गायक ललित सिर्पालीको स्वरमा रहेको अत्यन्तै मार्मिक गीत ‘माया तिमी हौ’ सार्वजनिक भएको छ । गायक सिर्पालीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतका शब्द र संगीत ललित सिर्पालीकै रहेको छ भने हेमन्त कान्छा रसाइलीले संगीत संयोजन गरेका छन् ।
गीतमा रत्न बिकको बासुरी र संजीव बराइलीको गितार रहेको छ । अडियो पक्ष कुमार रानाको मिक्सिङमा स्टुडियो मारुनीमा तयार पारिएको हो । ललित म्युजिक अफिसियलमार्फत निर्माण गरिएको यो गीतको भिडियो पनि अर्गानिक रूपमा निर्माण गरिएको छ ।
गीतले प्रेममा आधारित एक मार्मिक कथा प्रस्तुत गर्दछ । मुनामदन जस्तै हाँसीखुसी रहेको प्रेम जोडीको बिहेपछि पैसाको लागि आफ्नो गर्भवती श्रीमतीलाई एक्लै छोडेर जानुपर्ने बाध्यता र त्यसले निम्त्याएको पीडा भिडियोमा देखाइएको छ ।
‘माया तिमी हौ’ गीतको भिडियोमा आयुष्मा कार्की, ललित सिर्पाली, भीमसेन दाहाल, दीप हमाल, दिलीप सिर्पाली, प्रमिला राई र ध्रुव खड्काको अभिनय रहेको छ । भिडियोको निर्देशन, छायाँकन तथा सम्पादन थाहा नगरपालिका-८ निवासी आरबी सेन्चुरीले गरेका हुन् ।