कोशेढुंगा निर्माण घोषणासँगै कलाकार अनुबन्धित

रंग नेपाल २०८१ माघ ९ मा प्रकाशित

काठमाडौं । यो वर्षको सर्वाधिक व्यापार गर्न सफल चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणासँगै यो चलचित्रको कलाकार पनि सार्वजनिक गरेका छन् ।

निर्देशक सरोजका अनुसार अर्को महिनाबाट छायांकन सुरु हुने यो चलचित्रमा आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह र प्रवीण खतिवडा मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । बाँकी कलाकारलाई पनि अनुबन्धित गरेर अभिनय कार्यशालाको तयारीमा आफूहरू जुटेको पनि उनले बताएका छन् ।

यता अब छायांकन सक्नु पर्ने आर्यनको यो तेस्रो चलचित्र हो । अहिले आर्यन नयाँ चलचित्र महाभोज छायांकनमा छ भने त्यसपछि माग्ने राजाको छायांकनसँगै फागुनको पहिलो साताबाट चलचित्र कोशेढुंगालाई पनि आफुले समय दिने उनले बताएका छन् ।

कोशेढुंगा पनि पूर्णबहादुरको सारंगी जस्तै सामाजिक कथामा आधारित रहने जनाइएको छ । यो चलचित्रमा पनि अभाव, अग्लो सपना र संघर्षको कथा प्रस्तुत गर्ने निर्देशक पौडेलले राजधानीलाई बताए । उनले, ‘यो सामाजिक कथामा बन्ने चलचित्रले विपन्न नेपालीहरुको समस्यालाई उजागर गर्नेछ । पूर्णबहादुरको सारंगी जसरी दर्शकले मन पराउनु भयो, त्यसै गरी यो सबैको मन जित्ने चलचित्र बनाउने प्रयासमा छौँ ।’

यो चलचित्रको २ फागुनबाट छायांकन सुरु गरिने भएको छ । चलचित्रलाई २०८२ मा रिलिज गरिने पनि पौडेलले बताए । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

चलचित्र कोशेढुंगामा बाबु श्रेष्ठको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन हुनेछ । यस चलचित्रमा संगीत रिदम कँडेल र आशिष् अविरलले सृजना गर्दै छन् । यसका काष्टिङ निर्देशक सुवलमणि सापकोटा रहनेछन् । यो चलचित्रको अन्तर्राष्ट्रिय वितरकमा ‘सेभेन सिज इन्टरनेसनल’ कम्पनी रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट