काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ ।
बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित सैफको घरमा आक्रमण हुँदा सैफ, उनकी पत्नी करीना कपुर र उनका छोराछोरी पनि त्यहाँ थिए । सैफकी पत्नी करीना र उनका दुवै छोराछोरी सकुशल छन् ।
यसअघि चोरीको उद्देश्यले सैफको घरमा अज्ञात व्यक्ति प्रवेश गरेको खबर आइरहेको थियो तर अहिले आएको पछिल्लो समाचार अनुसार सैफ अली खानको एक अज्ञात व्यक्तिसँग झगडा भएको बताइएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार हिजो राति एक अज्ञात व्यक्ति अभिनेता सैफको घरमा प्रवेश गरे र सफैको कामदारसँग बहस गरे । जब अभिनेता सैफले हस्तक्षेप गरेर व्यक्तिलाई शान्त पार्ने प्रयास गरे, उनले सैफमाथि आक्रमण गरे र घाइते बनाए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
सैफ हाल मुम्बईको लीलावती अस्पतालमा भर्ना छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको मुम्बई पुलिसले जनाएको छ ।