काठमाडौं । चलचित्र ‘कार्साङ’को टिम माघ २ गते पूर्वका विभिन्न हलहलमा पुग्ने भएका छन् ।
फिल्मको राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै नायिका सिर्जना निङ्लेकु आफ्नो पहिलो डेब्यु फिल्मबाट निकै उत्साहित देखिएको जनाएकी छिन् ।
उनले खुशी व्यक्त गर्दै भनिन्, ‘यो मेरो पहिलो फिल्म हो र दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाउँदा निकै खुशी छु ।’
कार्साङ चलचित्र अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको फिल्म हो । याम शेर्पाद्वारा निर्देशित यस फिल्मले सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको संघर्षमय जीवनको कथा प्रस्तुत गर्दछ । आर्थिक विपन्नता र सामाजिक असमानता जस्ता चुनौतीहरूको सामना गर्दै, पात्रले आफ्नो स्वाभिमानका लागि संघर्ष गर्दछ ।
यस फिल्मको प्रमुख भूमिकामा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेकु र दीया मास्के रहेका छन् । कार्साङको रनटाइम १२६ मिनेट रहेको छ र यसको सर्टिफिकेट युनिभर्सल रहेको छ ।
चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । विशेषगरी, दयाहाङ र जितु नेपालको अभिनयलाई निकै सराहना गरिएको छ । दर्शकहरूले शेर्पा समुदायको सांस्कृतिक पक्षलाई नजिकबाट बुझ्न पाउने आशा व्यक्त गरेका छन् । निर्देशक यम शेर्पाले भने, ‘हामीले दर्शकबाट चाहिएको माया र अपेक्षा पूरा हुनेगरी फिल्म निर्माण गरेका छौँ ।’
कार्साङको ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा विश्वास, समाजको परम्परा र आर्थिक गतिविधिहरूलाई देखाइएको छ । समाजको बहिष्कार, द्वेष र परिवारमा देखिने विचलनको कुरा गर्दै मुख्य पात्रको स्वाभिमानको संघर्ष प्रस्तुत गरिएको छ । फिल्म पारिवारिक कथावस्तुमा आधारित छ र ग्रामीण परिवेशमा आधारित रहेको निर्देशक यम शेर्पाले बताए । यस फिल्ममा सिर्जना निङ्लेकु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको पनि अभिनय छ।
कार्साङ फिल्म यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा बनेको हो । फिल्मका निर्माता र छायांकार पुरुषोत्तम प्रधान हुन् भने सहनिर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।