‘एक जोर जुत्ता’ कथामा बन्यो लघुचलचित्र

रंग नेपाल २०८१ पुष २२ मा प्रकाशित

काठमाडौं । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ ।

‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह रहेका छन् । आफू विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा चलचित्र निर्माण हुँदा शाहले खुशी व्यक्त गरे । उनले लेखेको कृति ‘छापामारको छोरो’ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो ।

लघुचलचित्र ‘एक जोर जुत्ता’मा श्रमिका लुइँटेल, सुरज पराजुली, रामबाबु रेग्मी, गीताश्री थापा, समिरा थापा, सितास्मा खड्का, सहदेव बस्नेत र राजु कारंजितको अभिनय रहेको छ । ऐना आर्टसको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्रलाई नारायण जिसीले छायांकन गरेका हुन् ।

कला निर्देशन सुमित राई र निर्माण व्यवस्थापन कविर शाक्यले गरेका छन् । छायांकनअघि मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघुचलचित्रलाई अनिल कुमार महर्जनले रंग संयोजन तथा सम्पादन गरेका हुन् ।

लघुचलचित्रको निर्माणसँगै कास्टिङ डिरेक्सन रंगकर्मी सुरेन्द्र क्षेत्रीले गरेका हुन् । बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत क्षेत्री काठमाडौंका विभिन्न स्कूलहरुमा पनि नाटक प्रशिक्षण गर्दै आईरहेका छन् ।

अहिले विद्यालयहरुमा पढाउने तरिका नै परिवर्तन भइरहेको अवस्थामा विद्यार्थीहरुका लागि कथा बुझ्न अझ सहज होस् भन्ने हेतुले लघुचलचित्र निर्माण गरिएको निर्माता क्षेत्री बताउँछन् । उनले निर्माण गरेको लघुचलचित्र ‘द स्कुल वाल’ले रसियामा उत्कृष्ट अवार्डसमेत प्राप्त गरेको थियो ।

लघुचलचित्र ‘एक जोर जुत्ता’को पटकथा तथा निर्देशन मोहन अभिलाषीले गरेका छन् । उनको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘पाउलो’, ‘द स्कूल वाल’ले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो ।

पछिल्लो समय उनले लघुचलचित्र ‘दृश्य’ निर्माण गरेसँगै ठूलो पर्दाको चलचित्र निर्माणको तयारीमा लागेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट