चलचित्र ‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीत सार्वजनिक

रंग नेपाल २०८१ पुष १४ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले शनिबार ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा डीपी खनालको शब्दरचना रहेको गीतमा एसडी योगीको संगीत छ । स्वर एडी योडी र रेश्मा पुन मगरको छ । रिकेश गुरुङले एरेन्ज छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ ।

प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ ।

टिपिकल शब्द र भेषभुषाले गीतलाई जीवन्त बनाएको छ । पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ । जसले गीतलाई राम्रो बनाउन सहयोग गरेको छ । बिटा लगाउँदै दाइँ गरेको दृश्यले ग्रामीण परिवेश चित्रण गरेको छ । यो गीतले सिनेमाको कथा भन्न सहयोग गर्नेछ ।

पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ ।

चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।

चलचित्रले दर्शकलाई शेर्पा समुदायको कला, संस्कृति र जीवनशैली नजिकबाट अनुभव गराउने अपेक्षा गरिएको छ ।

यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सहनिर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट