बुटवलमा खुल्यो फ्रेन्डस् सिनेमाज्

रंग नेपाल २०८१ मंसिर १४ मा प्रकाशित

काठमाडौं । बुटवलमा शुक्रबारबाट नयाँ हल फ्रेन्डस् सिनेमाज् औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

२२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज्को रुपमा ल्याइएको यो हल रोयल सिने हब प्रालिले सञ्चालन गरेको हो ।

तीन युवा, जो हाल चलचित्र वितरणमा समेत सक्रिय र सफल छन् आशिष तामाङ, प्रदिप धामी र पुष्कर घिमीरले फ्रेन्डस् सिनेमाज्को ब्राण्ड विस्तार गर्ने क्रममा बुटवलमा यो दोस्रो हल सञ्चालन गरेका हुन् । आफूहरुले नयाँ व्यवस्थापन, अत्याधुनीक प्रविधि तथा दर्शकलाई विविध सेवासुविधा र सहुलियतका साथ हल सञ्चालनमा ल्याएको जानकारी सञ्चालक मध्येका एक आशिष तामाङले दिए । उनले हल खोलेको उपलक्ष्यमा पहिलो साताभरि टिकट दर १५० रुपैयाँ राखिएको बताए । बिहानी शो, मंगलबार र बुधबारका शोका टिकट दर भने अन्य दिनका भन्दा कम हुने जनाइएको छ । दैनिक ६ शोसम्म चलाउन सकिने भ्यु सिनेमाज् अब फ्रेन्डस् सिनेमाज्का रुपमा आएको छ । हलमा नेपाली फिल्मलाई नै प्राथमीकता दिने दाबी सञ्चालक टिमको छ ।

हल सञ्चालनसँगै फिल्म वितरणमासमेत छोटो समयमै आफूलाई स्थापित गरिरहेको यो टिमले कुवेर सिने डिस्टिब्युसनमार्फत हालसम्म ‘फर्की फर्की’, ‘कुश्मा’ र ‘१२ गाउँ’ जस्ता हिट फिल्म वितरण गरिसकेको छ भने अब ‘उनको स्वीटर’, ‘बलिदान’, ‘रेशम फिरिरी’लगायतका फिल्म दर्शकमाझ ल्याउँदैछ । फिल्म वितरणसँगै भविष्यमा फिल्म निर्माण र देशका अन्य स्थानमा फ्रेन्डस सिनेमाज् विस्तार गर्ने योजना टिमको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट