काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।
आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँ कायम भएकोमा आज घटेर एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदी प्रतितोला एक सय १५ रुपैयाँले घटेको हो ।
सुन आयातमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई घटाएर १० प्रतिशत बनाइएको छ ।
त्यस्तै, चाँदीको १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पनि पाँच प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ ।
उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको थियो ।