काठमाडौं । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ विजेता डाक्टर आयुष्नोभा ढुंगाना इजिप्ट उडेकी छन् ।
इजिप्टको शर्म अल शेखस्थित सनराइज रिमल होटलमा आजदेखि आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न उनी बिहीबार मध्यान्न इजिप्ट उडेकी हुन् । उनी टर्कीको स्तानबुल हुँदै इजिप्ट पुग्नेछिन् ।
इजिप्ट उड्नु अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्तलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनु गौरवको विषय भएको बताइन् । प्रतियोगिताको शीर्ष उपाधि नेपाल भित्र्याउने आफ्नो पहिलो लक्ष्य हुने उनले सुनाइन् ।
५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगितामा उनी नेपालको एक्लो सहभागि हुन् । राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतिक परेवाको फ्युजन राखेर उनले प्रतियोगिताका लागि पहिरनसमेत तयार गरेकी छन् ।
प्रतियोगिताका लागि उनले एक भिडियो पनि बनाएकी छन् । जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्रकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषी र नेपाली पहिरनलगायतका कलासंस्कृतिसमेत झल्काएकी छन् ।
कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीयाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछिन् ।